|
तत्कालिन मल्पी, खोपासी, सुन्थान शारदा, टौखाल देवीस्थान, सुब्बागाउँ र पनौती
गाविसको सबै क्षेत्रलाई समावेश गरी २०५३ साल माघ ११ गते गठित पनौती नगरपालिका हाल
१३ वडामा विभक्त छ। आनन्द मल्लको शासन काल (इ.सं.१२७४-१३०१)
मा प्राचीन पनौतीको स्थापना भएको विशवास गरिएसँगै देशको रुपमा छुट्टै अस्तित्व वि.सं.
१८२० पछि नेपाल एकिकरणको क्रममा समाप्त भएको पाइन्छ।
राजधानी काठमाण्डौबाट दक्षिण पूर्वमा पर्ने यस
नगरको केन्द्रसम्म ३२ कि.मी.
दुरी रहेको छ। यो नगर पृथ्वीको २७० ३८'
उत्तरी अक्षांस र पूर्वी देशान्तर ८५० ३२' मा पर्दछ। कूल ३३.७८
बर्ग किलोमिटर क्षेत्रमा फैलिएको नगर समुन्द्री सतहबाट १३०० मी.
देखि १६०० मी.
को उचाईमा छ। पूर्वमा शारदा वतासे/शंखु पाटीचौर
गाविस र धुलिखेल नगरपालिका, पश्चिममा कुशादेवी, महेन्द्रज्योती र कलाँती भुमेडाँड
गविस, उत्तरमा उग्रतारा जनागाल गाविस र बनेपा नगरपालिका एवं दक्षिणमा कलाँती
भुमेडाँडा, चलाल
गणेशस्थान र बल्थली गाविस पनौती नगरका सीमा हुन। समशितोष्ण हावापानी पाइने यो नगरमा
अधिकतम् ३२०से. देखि न्युनतम ५०
से. सम्म तापक्रम रहने गर्छ भने औसत वर्षा वार्षिक १२००
मि.मि. सम्म हुन्छ।
जातिगत रुपमा ब्राह्मण, क्षेत्री र नेवारको बाहुल्यता रहेता पनि
ठकुरी, मिजार, परियार, विश्वकर्मा, घर्ती, पहारी, राई, तामाङ्ग, सन्यासी र मगर
लगायतको बसोबस पनि रहि आएको छ। यस नगरमा जम्मा ५,४६८ घरधुरी रहेको छ भने जम्मा
जनसंखया २९,५०६ छ जसमध्ये महिला पुरुषको अनुपात ५०.१% (म.)
४८.९%(पु) रहेको देखिन्छ। जनसंख्या वृद्धिदर करीव
२.०७% छ।
ग्रामिण क्षेत्रको बाहुल्यता
भएको यो नगरका अधिकांश नागरिकको प्रमुख आम्दानीको श्रोत कृषि उत्पादन नै हो। आलु,
धान, सुन्तला र दुग्ध पदार्थ यहाँका प्रमुख उत्पादन हुन्। हालका वर्षहरुमा हरियो तर
कारी उत्पादनले समेत व्यवसायिक रुप लिंदैछ। स-साना घरेलु उधोग, पसल वयवसाय र दुग्ध
प्रशोधन केन्द्र लगायत प्लाइवुड/ काष्ट उधोग बाहेक नोकरी
समेत यहाँका पेशा बनेको छ।
पूर्वाधारका दृष्टिले थुप्रै
चुनौतीपूर्ण कार्य गर्न बाँकी रहेको यस नगरमा करीब १९.०८
कि.मि. कालो पत्रे सडक करीब
२१.१९ कि.मि.
ग्राभल सडक र अन्य करीव १०४.७८ कि.मि.
भन्दा बढी सडक कच्चीकै रुपमा छन्। २ वटा स्वासथ केन्द्र र ४ वटा उपस्वासथ चौकी
रहेको पनौती नगरपालिकामा टेलिफोन, विधुत, हुलाक, र खानेपानीको सामान्य पूर्वाधार
सुविधा बाहेक ब्यवस्थित एंव पूर्ण रुपमा ती सुविधा प्राप्त हुन बाँकी नै छ।
जनसमुदायको आर्थिक विकासको लागि यस क्षेत्रको ५८ वटा सहकारी संस्थाहरुले आ-आफ्नै
हैसियत अनुसार भूमिका निर्वाह गरिरहेका छन्।
पनौती नगरपालिका ऐतिहासिक पुरातात्विक
प्राचिन एवं धार्मिक दृष्टिले समेत अत्यन्त महत्व राख्दछ। थुप्रै मौलिक संस्कृति र
परम्पराको धनी पनौतीमा विभिन्न जात्रा, पर्व पूजा नियमित जसो चलिरहन्छन्। प्रत्येक
बाह्र वर्षको माघ महिनामा त्रिवेणी घाटमा लाग्ने मकर मेला, १२ वर्षमा हुने हलसिद्धि
देवताको जात्रा, प्रत्येक वर्ष हुने ज्या पून्हि (पनौती जात्रा) देवीनाच भद्रकाली
नाच, विस्केट जात्रा, रंगनाथ (मन्दिर) जात्रा, माधवनारायण मेला लगायत अनगिन्ति मेला
पर्वले पनौतीको सांस्कृतिक भव्यतालाई अझै उँचो बनाइ राखेको छ। यहाँका इन्द्रेश्वर
महादेव (राजकुमारी विरुमा देवीबाट वि.स.
१३५१ मा निर्मित), भद्रकाली, बह्मायणी, बद्रिनाथ, केदारनाथ, तोलानारायण, उन्मत्त
भैरवका मूर्ति एवं मन्दिरका कलात्मकताले प्राचीन युगको अद्दितीय शिल्पकारिताको
नमुना प्रस्तुत गरि रहेको छ, बजार टोलका पुराना घरमा समेत पुराना शैली र कला प्रष्ट
देखिन्छ। वडा नं. २ स्थित धनेश्वर महादेव मन्दिर र वडा
नं. १२ खोपासी स्थित रंथनाथ मन्दिर एवं द्रोपदादेवी
मन्दिर यसका थप उदाहरण हुन्।
प्राचीन कला, संसकृति र ऐतिहासिकतालाई
ख्याल गरी सरकारले प्राचीन स्मारक संरक्षण ऐन बमोजिम पनौतीको खास क्षेत्रलाई
प्राचीन स्मारक क्षेत्र तोकेको छ। यिनै महत्वलाई विश्वसामु पुर्याई यसको भविष्यलाई
अझ सुनिश्चित गर्न प्राचीन पनौतीलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रस्ताव
यूनेस्कोमा विचाराधीन छ।
वि.स.
१९७२ मा स्थापित पनौती पाठशाला (हालको पनौती नि.मा.वि.)
बाट सुरु भएको पनौती क्षेत्रको संस्थागत शैक्षिक विकासले थुप्रै फड्को
मारिसकेको छ। अनगिन्ति प्राथमिक तहका सामुदायिक तथा निजि विधालयका अलावा निमावि र
मा.वि. तहका समेत त्यतिकै
संख्यामा विधालयहरु चलिरहेका छन्। २ वटा उच्च मा.वि.,
२ वटा क्याम्पस लगायत केहि राष्ट्रिय ख्याती कमाउन सफल नीजि विधालयले समेत यहाँका
शैक्षिक विकासमा महत्वपूर्ण योगदान गरि रहेका छन्।
नेपालकै पहिलो सूचना प्रविधि पार्क
अवस्थित पनौतीको प्राचीन पुरातात्विक, ऐतिहासिक धार्मिक महत्व लगायत प्राकृतिक
छटाले परिपूर्ण, अग्ला हरियाली युक्त डाँडा कांडाले घेरिएको ऐतिहासिक एंव धार्मिक
थलाका रुपमा परिचित नमोबद्धको गन्तब्य रहेको फुल्चोकी पर्यटन मार्गको गन्तब्य तय
गर्ने स्थानका रुपमा अवस्थित पनौती साँच्चै सुन्दर छ।
|